धनगढीमा सभा सकेर महेन्द्रनगर जाँदा अभियानको केन्द्रीय टोलीलाई राजमार्गको किनारामा बसेका ठूलो जनसमुदायले हार्दिक स्वागत गरेका थिए । एमाले शीर्ष नेताहरु बोल्दा जनताहरु कान थापेर सुनेका थिए । उनीहरुले एमाले अध्यक्ष ओलीको सम्बोधन मन परेको र मन छोएको प्रतिक्रिया दिएका छन् ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले भन्नुभयोः
– एमाले कमजोर भयो भने देश कमजोर हुन्छ । एमालेसँग देशलाई कमजोर बनाउन चाहने तत्व कति आतंकित हुँदा रहेछन् भन्ने देख्नुभयो होला । हामी पूर्वबाट हिँडेपछि भाला, लाठी, ढुंगामुढा बोकेर आए । हामीले संघर्ष गरेर ल्याएको लोकतान्त्रिक परिपाटीविपरीत प्रस्तुत भए । शान्तिपूर्ण रुपमा सभा गर्न नदिने तत्वलाई जनताले चिनेका छन्, चिन्छन् ।
– एमालेका नेताहरुमाथि सांघातिक आक्रमण गर्ने, नेताहरुको हत्या गर्ने उनीहरुको प्रयास सफल भएन । हामीमाथि आक्रमण गर्न प्रहरीले दिएन भनेर प्रहरीमाथि आक्रमण भयो । काठमाडौंँको आरामदायी सोफामा बसेका, एसी लगाएका, कानमा फोन लगाउनेहरुले आक्रमण गर्न आदेश दिन्छन् । ४८ जना प्रहरी घाइते बनाइयो । हत्याको जिम्मा तिनले नै दिनुपर्छ ।
– एमाले जहाँ पुग्यो, त्यहाँ बन्द गर्छन् । किन ? किनभने, सूर्य जहाँ पुग्छ, त्यहाँ उज्यालो हुन्छ । त्यही भएर तिनीहहरु आत्तिएका छन् । म भन्न चाहन्छु, हत्केलाले आफ्नो आँखा छेक्न सकिएला, सूर्यलाई छेक्न सकिन्न । यस्ता षड्यन्त्रलाई पराजित गरेर दृढतापूर्वक अघि बढ्ने जनतालाई धन्यवाद दिन्छु ।
– कतिपय बुद्धिजीवीहरुले एमालेलाई दोष दिने कोसिस गरेका छन् । शान्तिपूर्ण कार्यक्रम गर्न नदिनेहरुको नियत सबैले देखेका छन् । यसबाट सबै कुरा छर्लंग भएको छ ।
– कञ्चनपुरको आनन्दनगरमा गोविन्द गौतमको हत्या गरेको छ । यो अत्यन्तै निन्दनीय छ ।
– भारतले ठूलो देशको अहंकार छाड्नुपर्छ, नेपाल र नेपालीसँग माफी माग्नुपर्छ, पीडितलाई क्षतिपूर्ति दिनुपर्छ । मैले प्रधानमन्त्रीलाई व्यक्तिगत रुपमा पनि भनेको छु, तपाईंले भारतसँग माफी माग्न भन्नुपर्छ, क्षतिपूर्ति माग्नुपर्छ ।
– शहीद गोविन्द गौतमको परिवारलाई एमालेले सम्मानस्वरुप ५ लाख रकम उपलब्ध गराउँछौँ । छोरीहरुको शिक्षादिक्षाका लागि चिन्ता नलिनूस्, अरु कोही छैन भने एमाले छ ।
– नेपाललाई आत्मनिर्भर बनाउनुपर्ने आजको आवश्यकता छ । नेपालको अन्तर्राष्ट्रिय पारवहनको अधिकार पनि सुरक्षित गर्नुपर्छ भनेर मैले प्रधानमन्त्री भएको बेला हिन्द महासागरसम्म नेपालको झण्डा भएको पानीजहाज चलाउने भनेपछि केही कुवाका भ्यागुताहरु कराए ।
– पार्टीको आकारले के गर्ने ? हेनूस् त कांग्रेस आकार हेर्दा भैँसीको जत्रो छ । भारी चाहिँ बाख्राको जत्रो पनि बोक्न सक्दैन । माथि बस्नेहरुलाई कांग्रेस चाहिएको होला । जनतालाई किन चाहियो कांग्रेस ? आउनूस्, एमालेमा स्वागत छ ।
– पहाड र तराईलाई छुट्याउने षड्यन्त्रस्वरुप संविधान संशोधन प्रस्ताव आएको छ । यसलाई पारित हुन दिन्नौँ, ढुक्क हुनूस्, एमालेले पारित हुन दिँदैन ।
– निर्वाचन नगराउने हो भने जनताले नालायक सरकारलाई जनताले स्वीकार गर्ने छैनन् ।
– रहर गरेर के गर्ने ? हामीले नौ महिनामा चीन र भारत भ्रमण गर्यौँ । नाकाबन्दी खुलायौँ । सन्धिहरु गर्यौँ । तर, यो सरकारले आठ महिनामा के गर्यो ? चुइँगम चपाएर बस्यो । केही गरेको देख्नुभएको छ ?
बरिष्ठ नेता माधवकुमार नेपालले भन्नुभयोः
– मेचीदेखि महाकालीसम्म आइपुग्दासम्म अपार जनसमर्थन देखिएको छ । यसबाट हामी उत्साहित भएका छौँ । हाम्रा प्रतिद्वन्द्वीहरुको सातो गएको छ, होसहवास उडेको छ । मलाई डर लाग्दैछ, कतै एमालेको लोकप्रियता देखेर स्थानीय निर्वाचनको घोषणालाई निरर्थक बनाउने त होइनन् ? म खबरदारी गर्न चाहन्छु, निर्वाचनको मैदानबाट नभाग्नूस् ।
– ९० प्रतिशत जनप्रतिनिधिहरुले बनाएको संविधान सफल बनाउन निर्वाचन गर्नैपर्छ । यदि चुनाव गराउन सक्नुहुन्न भने अहिले भन्नूस्, कुर्सी त्याग्नूस्, हामी गराउँछौँ ।
– नेपाली भूमि मिचिँदा कञ्चनपुरमा सीमाका जनताले प्रतिवाद गरे, सप्तरीमा त्यस्तै हुँदा त्यहाँका जनताले विदेशीलाई लखेटिदिए । सीमा मिचिँदा सिमानाकै मान्छेले रक्षा गर्ने हो । एमाले यसमा प्रस्ट छ र जहिले पनि मधेसी जनताका पक्षमा छ ।
– मधेस, जनजातिका मामिलामा कागले कान लगे जस्तो हल्ला चलाइरहेका छन् । एमालेलाई मधेसविरोधी पार्टीका रुपमा चित्रित गर्न खोज्ने मधेसी मोर्चाको सपना पूरा हुन दिँदैनौँ ।
– संविधानले सबैलाई बराबर अधिकार दिएको छ । अझ कतिपयका लागि विशेष व्यवस्था गरिएको छ । मधेसी, महिला, जनजाति, दलित आदिका लागि विशेष आयोगहरुको व्यवस्था गरेको छ । यति व्यवस्था गरेको संविधानले विभेद गर्यो भन्न मिल्छ ?
– सामाजिक सुरक्षा भत्ता सुरु एमालेले गर्यो, अहिले दुई हजार रुपियाँ पनि यसैले पुर्याएको छ । गाउँमा बजेट आउने व्यवस्था एमालेले नै सुरु गरेको हो ।
– आनन्दनगरको विषयमा नेपालले भारतसँग कुरा गर्नुपर्छ । नेपालका गाउँगाउँमा पुगेर भारतीय सुरक्षाकर्मीले गरेको अपमान हामीलाई स्वीकार्य छैन, स्वीकार गर्दैनौँ । सरकारले यसमा लाचारी देखाएको छ ।
महासचिव ईश्वर पोखरेलले भन्नुभयोः
– एमाले राष्ट्रियताको आन्दोलनको पहरेदारका रुपमा रहँदै आएको छ, रहिरहनेछ । हिजो मदन भण्डारीको नेतृत्वमा राष्टियताको आन्दोलन आज केपी ओलीको नेतृत्वमा जारी छ ।
– आनन्दनगरमा घाइते भएका टीकाराम चापागाईंको उपचारको जिम्मा एमालेले लिन्छ ।
– नेपाली जनताका प्रतिनिधिहरुले जारी गरेको संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र भइरहेको छ, त्यो पूरा हुन दिँदैनौँ ।
– हाम्रो नेतृत्वको सरकारले मुलुकका पक्षमा अडान लिँदा नौ महिनामै गिराइयो । नेपाल अब कुनै एक मुलुकसँग अडेस लागेर बस्न सक्दैन । हामीले यही भन्दा हाम्रा मित्र भन्नेहरुले षड्यन्त्र गरिरहेका छन् । देशभित्रै तिनका मतियारहरु सक्रिय छन् ।
आनन्दनगरमा भारतीय सुरक्षा फौजबाट मारिएका गोविन्द गौतमका परिवारलाई पार्टीका तर्फबाट प्रदान गरिएको पाँच लाख रुपियाँको चेक अध्यक्ष ओलीले पार्टीका कञ्चनपुर जिल्ला अध्यक्ष तारा लामा तामाङलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष भीम रावल, बैकल्पिक केन्द्रीय सदस्य निरा जैरुलगायतले बोल्नुभएको थियो ।
पार्टीका केन्द्रीय सदस्य रामकुमार ज्ञवालीको अध्यक्षता र बैकल्पिक केन्द्रीय सदस्य विक्रमबहादुर शाहीको सञ्चालनमा आयोजित सभामा सहभागीहरुलाई कञ्चनपुर जिल्ला अध्यक्ष तारा लामा तामाङले स्वागत गर्नुभएको थियो ।
भोलि विहान ९ बजे कञ्चनपुरस्थित पार्टीको जिल्ला कार्यालयमा पत्रकार सम्मेलन गरी विधिवत् रुपमा अभियानको समापन गरिनेछ ।
-dainik nepal
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment