देशभर एकैसाथ आज अङ्ग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा सुरु भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) शान्तिपूर्ण रुपमा सुरु भएको हो ।
परीक्षामा देशभरबाट दुई लाख ५९ हजार सातसय ३२ छात्र र दुई लाख ७८ हजार चारसय ५० छात्रा गरी कुल पाँच लाख ३८ हजार एकसय ८२ परीक्षार्थी सहभागी भएका छन् । परीक्षाका लागि देशभर कुल एकहजार नौसय २३ केन्द्र निर्धारण गरिएको छ ।
त्यसैगरी, एक हजार नौ सय २३ केन्द्राध्यक्ष, दुई हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार चारसय ६१ निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित ६७ हजार पाँचसय ९१ जनशक्ति खटाइएको नियन्त्रक रेग्मीले जानकारी दिनुभयो ।
परीक्षा नियन्त्रक रेग्मीका अनुसार भोलि चैत ४ गते अनिवार्य नेपाली, ६ गते अनिवार्य गणित, ७ गते अनिवार्य विज्ञान, ८ गते सामाजिक शिक्षा, ९ गते स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण, १० गते ऐच्छिक प्रथम र ११ गते ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन हुनेछ । परीक्षा साधारणतर्फ चैत ११ गते र प्राविधिकधारतर्फ चैत १४ गते सम्पन्न हुनेछ ।
विगतका वर्षमा एसएलसी परीक्षाका रुपमा लिइँदै आएको यो परीक्षा नयाँ शिक्षा ऐनमा विद्यालय तहको अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा सञ्चालन गर्ने उल्लेख गरेपनि तयारी नपुगेको भन्दै यस वर्ष अन्तिम पटकका लागि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सञ्चालन गरेको हो ।
परीक्षालाई मर्यादित बनाउन तीन तहका सुरक्षा निकाय तैनाथ गरिएको छ । परीक्षा अनुगमनका निम्ति मन्त्रालयले सहसचिवको नेतृत्वमा १८ वटा अनुगमन टोली खटाएको छ । त्यसैगरी क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लाको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिको अनुगमन टोली पनि खटिएका छन् । रासस
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment