यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्वास आस्था एवम् पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।
अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी“ भनि श्रद्धा एवम् भक्तिपूर्वक पुजा तथा आरधना गरिन्छ । ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई ‘मुक्तुवुङ’ भनेर चिन्दछन् । लिम्बूभाषामा ’मुक्तु’को अर्थ शक्ति वा बल, ‘वुङ’को अर्थ बोट भन्ने जनाउँदछ । अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको स्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन ।
उत्पतिसम्बन्धि किम्बदन्ती तथा जनश्रुति
पाथीभरा देवीको उत्पतिसम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरू छन । भनिन्छ । परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरू अलप भए । त्यस्तो अकल्पनिय घटनाले स्तब्ध भएका गोठालाहरूलाई रातमा देवीले दर्शन दिनु भै आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो ।
आत्मवोध प्राप्त गोठालाहरूले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्टपुष्ट भेडाको थुम्बा बलि दिए । बलि के दिनु थियो ती हराएका सयकडौं भेडाहरू जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे । त्यो भन्दा आश्चर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो । यो देखेर हर्ष एवम् आश्चर्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे । यहाँ स्मरणीय कुरा के छ भने पाथीभरा देवीलाई दैनिक सय कडौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ ।
तर, बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन । देवीमा चढाईएको बलि संख्यालाई दृष्टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पर्ने थियो । त्यसो हुँदैन । यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरूले चढाएको बलि स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा रहि आएको छ । आज पाथीभरा देवीको महिमा, देवीप्रतिको आस्था एवं विश्वासले गाँउ, जिल्ला र देशको सीमा नाघ्दै विदेशसम्म पुगेको छ । जसको परिणामस्वरूप हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू देश तथा विदेशबाट देवीदर्शनको निम्ति आउने क्रम जारी छ ।
विश्वास आस्था एवम् अलौकिक शक्तिकी देवी
पाथीभरा देवी विश्वास आस्था एवं पवित्रताकी देवी हुन । त्यसैले पाथीभरा धाममा त्यसरी नै जानुपर्ने हुन्छ । ‘मनमा शुद्धता, देवीप्रतिको भक्तिभाव राखे पुग्ने तर पाथीभरा धाममा गर्भवति, रजस्वला (नछुने वा पर सरेकी) भएकी महिला, बरखी बारेको, मनमा लोभ, पाप बोकेको मान्छे गएको खण्डमा उनीहरूको सर्वनाश हुन्छ, ठूलो क्षति हुन्छ’ भन्ने जनविश्वास रहि आएको छ ।
पाथीभरा देवीको निम्ति पशु बलि अनिवार्य नभए पनि बलि चढाउनु अति उत्तम मानिन्छ । काटमार नगर्नेहरू देवीलाई स्वादिष्ट फलफूल तथा मिठाईको भोग चढाउँछन् ।
पाथीभरा देवी उत्पतिस्थल
फेदीबाट लेकाली अङ्गेरी, गोब्रेसल्लो, धुपी, गुराँसको जंगल मालिङोघारीको बाटो हुँदै लगभग २ घण्टा ठाडो उकालो हिंडेपछि तपाईं पाथीभरादेवीको मन्दिर रहेको डाडाँको पश्चिमपट्टीको मुखमा फुत्त आईपुग्नुहुन्छ, त्यसबेला तपाईको आगमनको खबर पाएर टक्र्याक टुक्रुक बसेका कुम्भकर्ण हिमाल आफ्नो सम्पूर्ण हिमश्रृंखलाहरू साथैलिई स्वागतको लागि हतारहतार आएझैं भान पर्दछ ।
जतिसुकै थाके पनि वुरुक्क उफ्रिएर कुम्भकर्णको कुममा चढौंचढौं लाग्दछ । कञ्चनजंघाको भिरालो फाँटहरूमा चिप्लेटी खेल्ने रहर जागेर आउन सक्दछ । साँच्चै नै भन्नुपर्दा यी हिमश्रृंखलाहरूको मगमुग्धकारी अलौकिक दृश्यले सम्मोहित भई तपाईं स्वर्गीय आनन्दको अनुभूतिमा डुब्नुहुन्छ, भावशून्य भएर आफैं÷आफैंमा हराउनुहुन्छ ।
सायद तपाईको उत्सुकता पाथीभरा मन्दिर कसरि पुग्ने भन्ने तिर होला, दक्षिणबाट उत्तरतर्फ केही ओह्रालिएर गएको चउरीलो फाँटको ठीक पूर्वपट्टि अत्यन्तै कहालीलाग्दो भीरको शिरानमा सबै श्रद्धालुभक्तजनहरूको मनोकांक्षा पूरा गरिदिने देवी पाथीभराको मन्दिर अवस्थित छ । अब तपाईं देवी पाथीभराको चरणमा उपस्थित हुनुहुन्छ । यहाँ रहेको पाथीभरा देवीको नयाँ प्रतिमा नेपाल भरिकै सबैभन्दा अग्लो भगवतिको प्रतिमा हो ।
देवी दर्शन तथा पूजा अर्चना सकिएपछि पाथीभराबाट देखिने हिमश्रृंखलाको अवलोकन गर्न पटक्कै नभुल्नुहोला । यदि केही समय निकाल्न सक्नुहुन्छ भने पाथीभराबाट कञ्चनजंघामा सूर्योदय र सूर्यास्तको अत्यन्तै सुमधुर सुन्दर मोहनीलाग्दो दृश्य हेर्न तथा यसलाई आफ्नो क्यमरामा कैद गर्ने अवसर नगुमानुहोस ।
पाथीभरा धाममा कसरी जाने ?
पाथीभरा देवीको मन्दिर निक्कै उचाईमा (३७९४ मिटर) रहेकोले यहाँको तापमान हमेशा शून्यको हाराहारीमा झर्ने गर्दछ । अतः तीर्थयात्री तथा पर्यटकहरूले लेकलाग्न र न्यूनतमबाट जोगिन घरेलु उपचारको सामाग्री जस्तै तातोपानी, भुटेको मकै, अदुवा, लसुन, गरम खाद्य तथा पेय पदार्थ र न्यानो कपडाहरू साथै लगे झनै वेश हुन्छ ।
पाथीभरा यात्राको लागि फाल्गुणदेखि कार्तिक महिनासम्मको अवधि उपयुक्त हुन्छ । झापाको बिर्तामोड बाट इलाम(फिदिम( हुँदै २७० किलोमिटर फुङलिङ मेची राजमार्गमा यात्रा गरी फुङलिङबाट सुकेटार ( तल्लो फेदी÷ उपल्लो फेदी हुँदै पैदल हिँडेर पाथीभरा पुग्न सकिन्छ । अन्य मार्गमा धरान बाट धनकुटा÷हिले हुँदै कोशी राजमार्गमा एक सय किलोमिटर यात्रा गरी वसन्तपुरबाट गुफापोखरी, गोर्गा दोभान हुँदै पैदल यात्रामा पुग्न सकिन्छ ।
Travel, Destinations
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:
Post a Comment